राजगढ । झापाबाट करीब ५० हजार युवा बैदेशिक रोजगारीमा गएका छन् । उनीहरुको एउटै उदेश्य सुरक्षित भविश्य निर्माण गर्नु हो । थोरै पैसा कमाउनका लागि जोखिमयुक्त काममा बिदेशिने युवाको पङती बढ्दो क्रममा छ ।
स्वदेशमा रोजगारी नपाएको धेरै युवा युवतीको गुनासो छ । तर, गर्नेका लागि स्वेदेशमै प्रशस्त ठाउँ छ भन्ने उदाहरण झापा बाह्दशीका कोइराला परिवार बनेका छन् । २० बर्ष अगाडिसम्म झापाका बिभिन्न चिया बगानमा श्रमिकको रुपमा काम गर्दै आएका ६४ बर्षिय चन्द्रबहादुर कोइराला यतिबेला आफ्नै बारीमा बिभिन्न जातका फूलका बिरुवा स्याहार गरिरहेका हुन्छन् ।
उनलाई २५ बर्षिय छोरा पवनले साथ दिइरहेका छन् । बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म बाबु छोरा यिनै बिरुवाको स्याहार सुसारमा बिताउँछन् । १० कठ्ठा र भाडामा लिएको ५ कठ्ठा जमिनमा हजारौ प्रजातिका फलफुलका बिरुवा कोइरालाले हुर्काइरहेका छन् ।

उनीहरुले हुर्काएका बिरुवाको बजारमा उच्च माग रहेको बताउँछन् । एक पटक उनको नर्सरीमा पुग्ने मान्छे पटक–पटक आउने गरेको अनुभव उनीहरुको छ । नर्सरीमा २० रुपैंयाँदेखि २ हजारसम्मका बिरुवा पाइने गरेको छ ।
देशका ठुला शहरदेखि झापाका हरेक क्षेत्रमा उनीहरुका बिरुवा बिक्री हुने गरेका छन् । स्कुल पढ्दा पढ्दै पैसा कमाउन घरबाट भागेर भारत गएपछि कति दुःख पाइन्छ भन्ने कुरा छोरा पवनले राम्रोसँग बुझेका छन् । उनी १० बर्ष अगाडि साथीको लहलहैमा रोजगारीका लागि भारत पुगे । त्यहाँ कतिदिन खानसमेत नपाएको अनुभव उनीसँग छ । काम गरेको ठाउँमा साहुको पिटाइ खाएको, काम गरेको पैसा नदिदा मन रोएको उनलाई अहिले पनि सम्झना छ ।
करीब ७ महिना त्यहाँ बिताएपछि बाबुले सुरु गरेको नर्सरी पेशामा उनले साथ दिने निर्णय गरे । अहिले त्यही पेशालाई मुख्य पेशा बनाएका उनले मनग्ये आम्दानी गर्न थालेका छन् । कोइराला परिवारले खर्च कटाएर मासिक १ लाखभन्दा बढी आम्दानी गरिरहेको उनले बताए । केहीलाई रोजगारीसमेत दिएका छन् ।
‘चन्द्र नर्सरी कृषि फर्म’ दर्ता गरेर व्यवसायिक रुपमा फलफुलका बिरुवा उत्पादन गरिरहेका उनले राज्यले प्रदान गर्ने न्युनतम सुविधासमेत नपाउँदा निरासा लागेको बताए । स्थानीय सरकारले पनि आधुनिक खेती गर्नलाई तालिम मात्र उपलब्ध गराए धेरै गुणस्तरीय उत्पादन दिन सकिने उनको बुझाई छ । सरकारले गुणस्तरीय बिउ र मलको सहज उपलब्धता सुनिश्चित गरे धेरैलाई रोजगारी प्रदान गर्न सकिने उनी बताउँछन् ।

अहिले भारतीय बजारबाट बिउ खरीद गर्दा गुणस्तरहिन पर्ने र ठगिने भएकाले सरकारले यसतर्फ ध्यान दिन नसकेको उनको गुनासो छ । नर्सरीमा उत्पादित बिरुवाको बजारिकरण छोरा पवनले गर्ने गरेका छन् । नर्सरीको हेरचाह बाबु चन्द्रबहादुरको जिम्मामा छ ।
राज्यले युवालाई स्वरोजगार बनाउने नारा दिएको छ । तर, नेपालमै केही गर्छु भन्नेका लागि अहिलेसम्म राज्यले ध्यान नदिएको उनको गुनासो छ । राज्यबाट प्राप्त हुने अनुदान पहुँचवालाको नियन्त्रणमा छ । चन्द्रबहादुर जस्तै यही माटोमा जिविका चलाउने कृषकतर्फ पनि सरकारको ध्यान जान जरुरी छ ।



























































