काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन्।
आइतबार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए।
उनले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए। मन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए। उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे। दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने मन्त्री किरातीको दाबी छ।
त्यस्तै काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किरातीको ध्यानाकर्षण गराए।



























































