काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएका बताएका छन्। प्रतिनिधिसभाको आईतवारको बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएका बताएका हुन्।

सो स्थानमा १७ जना विद्यार्थीहरु रहेकामा २ जना सकुशल अवस्थामा रहेका, ३ जना घाईते भइ स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरुको अवस्थाको यकिन गर्न नसकिएको उनले जानकारी दिए।

उनीहरुको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए। मन्त्री साउदले आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने जानकारी दिए।

उनले इजरायलमा हाल ४ हजार ५०० नेपालीहरु केयर गिभरको रुपमा कार्यरत रहेका बताउनु भयो। त्यस्तै २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका मध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका उल्लेख गरे। सम्पर्कविहीन हुनेहरुमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरु रहेको उनको भनाई छ।

उनले भने ‘इजरायलमा हाल ४ हजार ५०० नेपालीहरु केयर गिभरको रुपमा कार्यरत रहेका छन्। इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए। यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। यि मध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए। नेपाली राजदुतावासबाट प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भिर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरु मध्ये २ जना सकुशल रहेको, ३ जना घाइतको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ। इजरायलमा भएको यस दुखद घटनालाई नेपाल सरकारले गम्भिरतासाथ लिएको छ। आजै बिहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसि परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ। यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मुल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ।’

मन्त्री साउदले उनीहरुको सुरक्षाको प्रत्याभुति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको बताए। परराष्ट्र मन्त्रालयले नेपाली राजदुतावासलाई नेपालीहरुको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रुपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिइसकिएको उनले बताए।

उनले नेपाली राजदुतावासले इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने इजरायल सरकार सँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहल कदमी लिइरहेको स्पष्ट पारे।

मन्त्री साउदले इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिएको भन्दै सरकार इजरालयमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिवद्ध रहेको बताए।