तेह्रथुम आठराई
तुलसी सिटौला
वडा दशैँ २०८० को अवसरमा तेह्रथुमको आठराई गाउँपालिका वडा नं १ सक्रान्तिबजार डाँडागाउमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आइतबारबाट शुरु भएको छ। श्री कृष्ण मा.वि. को खेल मैदानमा संचालन भएको प्रतियोगिताको पहिलो दिन ३ खेल सम्पन्न भएका छन्। आज भएको पहिलो खेलमा नाम्जाङ युथ स्पोटिङ क्लबले सक्रान्ति बजारलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। त्यस्तै आठराई र्याम्बो FC लाई १-० ले पराजित गर्दै कृष्ण मा. वि. डाँडागाउ र लिसिबुङ FC लाई ५-० गोल अन्तरले पराजित गर्दै तीनधारे FC फेदापले क्वाटर फाइनलमा आफ्नो स्थान पक्का गरेका छन्।
दोस्रो दिनका खेलहरु असोज १५ गते बिहान ८:३० बजे देखि शुरु हुने आयोजकले जनाएको छ। दोस्रो दिनको पहिलो खेल हाङ्गयाक्पा ह्वाकू vs खेलकुद विकाश समिति ईवाबीच हुनेछ।
डाँडागाउ खेलकुद युवा समितिद्वारा आयोजित वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि आठराई गाउपालिका उपाध्यक्ष वलीराज इङनाम र विशेष अतिथि वडा नं १ सक्रान्तिबजारका वडाध्यक्ष प्रेमराज फोम्बोले मुख्य रेफ्री सुमन खापुङ्गलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो।
बीस टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन खेल श्री कृष्ण मा.वि. vs श्री राम संस्कृत मा.वि. का शिक्षकहरु बिच भएको थियो। उक्त खेलमा कृष्ण मा.वि ले राम संस्कृत मा.वि.लाइ २-१ गोलले पराजित गर्दै उद्घाटन पुरस्कार आफ्नो हातमा पारेको हो।
१४ गते देखि शुरु भएको प्रतियोगिता १७ गते बुधवार सम्पन्न हुने डाँडागाउ खेलकुद युवा समितिका अध्यक्ष मनकुमार फोम्बोले जानकारी दिनु भयो। प्रतियोगिताको विजेताले नगद रू पच्चिस हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रू पन्ध्र हजार सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउने छ।































































