काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट ग¥यो । यसक्रममा नेपालले टी–२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।


१. कीर्तिमानी स्कोर

नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी–२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८÷३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८÷४ बनाएको थियो ।


२. सर्वाधिक रन रेट


नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८÷३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।


३. सर्वाधिक छक्का


बुधबार नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो नयाँ कीर्तिमान हो ।

यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए ।


४. कुशलको कीर्तिमानी शतक


मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।

१३७ रनमा अविजित रहेका उनी टी–२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे । पहिलो नम्बरमा एरोन फिन्च छन् । उनले १७२ रन बनाएका छन् ।


५. ऐरीको नाममा नयाँ रेकर्ड


मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् । मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी–२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।


६. स्ट्राइक रेटमा पनि ऐरीको कीर्तिमान


बुधबार ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो । त्यो हो हाइएस्ट स्ट्राइक रेट । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो ।

यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।


७. ठूलो अन्तरको जित


नेपालले मंगोलियालाई २७३ रनले हरायो । टी–२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।