काठमाडौं : काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ।
उक्त घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय छानविन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
एसएसपी सोमेन्द्र सिंह राठोरको संयोजकत्वमा प्रहरी नायव उपरीक्षकहरू क्रमश: काठमाडौं उपत्यका प्रहरी कार्यालयका सुवास खड्का, जिल्ला प्रहरी परिसरका हरि खतिवडा, महानगरीय अपराध महाशाखाका सुरक्षा केसी र बानेश्वर वृत्तका प्रहरी निरिक्षक वीरेन्द्र केसी उक्त छानविन समितिमा रहेका छन्।
गएराति भएको उक्त घटनामा टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो। सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको छ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। राई मृतक नविनका साथी रहेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीले जनाएको छ। उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा आएको एक अनुसन्धान अधिकृतले बताए।
वीभत्स रूपमा गरिएको हत्याको कारण खुलिसकेको छैन। प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ। हत्याको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँछन्। प्रवक्ता मैनालीले उक्त घटनालाई सबै कोणबाट अनुसन्धान सुरु भएको जानकारी दिए।



























































