काठमाण्डौ ।। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नुपर्ने बताए। उनले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गरे।
उनले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको उल्लेख गरे। उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गरे।
उनले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरूले रुचि राखिरहेको बताए।
खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताए। जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको बताए।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने र कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्राण्डिङ गर्नुपर्ने बताए।
उनले भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको भन्दै नेपालले पनि कोदो उत्पादन बढाउने गरी उत्पादनलाई बजारीकरण गर्न सक्नुपर्ने बताए।
उनले कोदो स्वास्थ्यका लागि धेरै नै लाभदायी भएकाले पनि नेपाल र भारत दुवै देशले आफ्नो उर्वर भूमिमा कोदो रोप्नुपर्ने बताए। उनले भारतले केही दिनपछि नै जी २० सम्मेलन गरिरहेको र सो सम्मेलनमा पनि दिगो विकासलाई प्राथमिकतामा राखेको बताए।



























































