भद्रपुर । साउन १९ गते अशान्त बनेको झापाको जिल्ला कारागारमा आम कैदीवन्दीहरुले लिखित माफी मागेका छन् ।

उनीहरुले कारागार विभाग र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लिखित माफी मागेका हुन् ।

उक्त घटनाको कसुर सजाय बारे झस्किएका कैदीवन्दीले माफी पाउनुपर्ने अडान राखेका छन् । कारागार व्यवस्था ऐन २०७९ को दफा ४९ ले कारागारभित्र हुलदंगा गर्दा सजायमा १० वर्ष थप गर्न सक्ने व्यवस्था उल्लेख छ ।

कारागार विभागले उक्त घटनामा संलग्नहरुलाई कारवाही गर्ने भनेपछि उनीहरुले लिखित माफी माग्दै त्यस प्रकारको घटना नदोहोर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । माफी माग्दै उनीहरुले उक्त घटना कुनै नियोजित नभई आक्रोस मात्र भएको बताएका छन् । कारागार विभागले ऐन बमोजिम कारबाही गर्ने र घटनामा संलग्नहरुलाई कैद मिनाहा सुविधाको सिफारिस नगर्न जिल्ला कारागारलाई पत्रचार नै गरिसकेको छ ।

साउन १९ को घटनापछि संखुवासभा र भक्तपुरको घटनालाई मध्यनजर गर्दै जिल्ला कारागारले दुवै पक्षलाई बचाउने गरी भूमिका निर्वाह गरिरहेको छ । झापा कारागारका जेलर मोहनलाल पनेरुले विभागको पत्रलाई ख्याल गर्दै कार्यान्वयनमा जानुपर्ने बताएका छन् ।

उनले सकेसम्म दुवै पक्षको हित हुने गरी आगामी निर्णय गरिने बताए । जेलर पनेरुले भने – अहिले कैदीवन्दीको पत्र र विभागको पत्र दुवैको अध्ययन गरिरहेका छौं । सोच विचार गरेर नै निर्णय लिन्छौं । अहिलेको प्रगति भनेको विचाराधिन नै हो ।

जेलर पनेरुले सरुवा भएका कैदीबन्दीहरुलाई सरुवा भएको ठाउँ जान सहजीकरण समेत गरिरहेको जानकारी दिए । झापामै बस्दा मिनाहाको लागि सिफारिस हुदैन, अन्यत्र गएमा सिफारिसका लागि मापदण्ड पुगेकाहरुको सिफारिस हुन्छ, उनले भने – कैदीबन्दीहरुले विभागको निर्णयलाई अस्वीकार गरे त्यसले उनीहरुलाई नै क्षति हुने बताए । कारागार प्रशासनले उनीहरुलाई स्वेच्छाले सरुवामा गइदिन आग्रह समेत गर्दै आएको छ । कारागार पक्ष र कैदीवन्दीबीच थप तनाव नहुने गरी निर्णय लिने प्रशासनको योजना छ ।