पुष्प बराल,
बिर्तामोड । तेह्थुमको आठराई गाउँपालिकास्थित पोखरी माबिको बिवाद उत्कर्षमा पुगेको छ । बिद्यालय ब्यवस्थापन समितिलाई स्थानीय तहले काम नगर्न आदेश दिएसँगै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्दै पुनर्वहाली गरेपछि उत्पन्न बिवाद उत्कर्षमा पुगेको हो ।

बिद्यालयका प्रधानाध्यापक देविप्रसाद संग्रौला र ब्यवस्थापन समितिका अध्यक्ष तेजमान कन्दङवाबीचको द्धन्दले बिद्यालयको पठन–पाठनमा असर परेको छ । गत पुषमा ब्यवस्थापन समितिको निर्वाचन भएको थियो । त्यो निर्वाचनबाट प्रदेशसभाका पुर्व माननीयसमेत रहेका कन्दङवा अध्यक्षमा निर्वाचित भएका थिए ।
माघमा आठराई गाउँपालिकाले शिक्षा ऐन संसोधन गरेको थियो । शिक्षा ऐन संसोधन गरेपछि सो गाउँपालिकामा रहेका सम्पुर्ण बिद्यालयका पुराना ब्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति बनाउन पालिकाले निर्देशन दिएको थियो ।
पालिकाको निर्देशन बमोजिम पोखरी मावि संक्रान्ती र सरस्वती आधारभुत बिद्यालय होडाको ब्यवस्थापन समितिले भर्खरै मात्र निर्वाचित भएकोले काम गर्न दिन आग्रह गरेको थियो । पालिकाले पुराना समिति खारेज गर्ने अडान लिएपछि पोखरी माविको ब्यवस्थापन समिति अन्तरिम आदेश दिनुपर्ने मागसहित सर्वाेच्च अदालत गएको थियो ।
सर्वाेच्च अदालतले चैत्र १५ गते बादीका पक्षमा अन्तरिम आदेश दिएको थियो । अदालतले अन्तरिम आदेश दिएसँगै ब्यवस्थापन समितिका अध्यक्ष कन्दङवा र प्रधानाध्यापक संग्रौलाबीच द्धन्द बढेको हो । प्रअ संग्रौला भने स्थानीय तहको मातहतमा सञ्चालित बिद्यालयमा स्थानीय तहकै निर्देशन कार्यान्वयन गर्नुपर्ने अडानमा छन् ।
ब्यवस्थापन समितिका अध्यक्ष कन्दङवा भने अदालतको अन्तरिक आदेशलाई बिद्यालयले सम्मान गर्नुपर्ने बताउँछन् । ब्यवस्थापन समिति र प्रअबीचको द्धन्दका कारण यतिबेला पोखरी माविको पठन–पाठनमा असर पुगेको छ ।
पोखरी माविका पुर्व ब्यवस्थापन समिति अध्यक्ष, सदस्य, बिद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक तथा पुर्व बिद्यार्थीहरुले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिवाद निरुपण हुनुपर्ने बताएका छन् । बिद्यालयका पुर्व प्रअ बद्री ओलीले अदालतको आदेश मानेर शान्तिपुर्ण वाताबरणमा अध्ययन गर्ने अवस्था निर्माण गर्न अनुरोध गरेका छन् ।
पुर्व शिक्षक राजेन्द्र संग्रौलाले आफुले शिक्षण गरेको बिद्यालय तहस–नहस हुन लागेको भन्दै बिवाद अन्तय गर्न आग्रह गरेका छन् । ‘बिद्यालय स्थापना गर्न कन्दङवा परिवारले गरेको योगदान आजपनि स्मरणयोग्य छ, संग्रौलाले भने–‘अहिलेको ब्यवस्थापन समितिलाई बायस गरेर प्रअले राजनीति गर्न खोजेको देखियो ।’ आफुले लामो समय अध्ययन अध्यापन गरेको बिद्यालयलाई बिवादको केन्द्र नबनाउन पनि उनले आग्रह गरेका छन् ।
कोशी प्रदेशकै सबैभन्दा धेरै भौतिक सम्पति रहेको बिद्यालय पोखरी मावी हो । आज पनि भौतिक पुर्वाधारका कारण यो बिद्यालय जिर्ण बनेको छ । यसलाई मर्मत सम्भार र नयाँ भवन निर्माणका लागि सर्बपक्षीय सहमतिको आवश्यक रहेको पुर्व प्रअ हरिनारायण भट्टराईको भनाई छ ।
२०१६ सालमा स्थापना भएको पोखरी मावी पुर्वकै शिक्षाको पहिलो गन्तब्य रहेको थियो । आन्तरिक बिवादका कारण बिद्यालयको सम्पुर्ण क्रियाकलापमा असर पुगेकाले तत्काल समाधान गर्नुपर्ने पुर्व बिद्यार्थी लोकबन्धु कन्दङवाले बताए । उनले भने–‘तेजमानलाई हटाउनुपर्ने कुनै कारण नै छैन ।’ सो बिषयमा बोल्दै कन्दङवाले प्रअको हठका कारण बिद्यालय बिवादमा मुछिदै गएकोले उनलाई बिद्यालयबाट सरुवा गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा पुर्व अध्यक्ष, पुर्व बिद्यार्थी, पुर्व शिक्षक तथा पुर्व प्रअ गरेर दुई दर्जन अग्रज शिक्षासेवीको सहभागिता रहेको थियो ।
बिद्यालयका प्रअ संग्रौलाले भने पालिकाको निर्देशन बमोजिम काम गरेको बताए । ‘अध्यक्षले पालिकाबिरुद्ध मुद्दा हाल्नु भएको हो, पालिका र उहाँबीचको द्धन्द हुन सक्छ, यो बिषयमा मलाई केही थाहा भएन, संग्रौलाले भने–‘अदालतको अन्तरिम आदेशलाई गाउँपालिकाले कसरी लिन्छ त्यसै अनुसार म अगि बढ्छु । मलाई जागिर छोड्न र नत्र ज्यान मार्नेसम्मको धम्की आउने गरेको छ ।’ आफु काममा निरन्तर क्रियाशिल रहेको उनले बताए ।
कन्दङवा नेकपा एमालेका स्थानीय नेता हुन् । नेपाली कांग्रेस नेतृत्वले आठराई गाउँपालिकामा नेतृत्व गरेको छ । अध्यक्ष कन्दङवा पालिका नेतृत्वसँग समन्वय गर्न तयार नभएकाले समस्या उत्पन्न भएको प्रअ संग्रौलाले बताए ।



























































