झापा । गौ हत्याबिरुद्ध आयोजित शान्तिपुर्ण बिरोध सभामा धरान जाँदै गर्दा झापाको चारपानेमा प्रशासनले बस रोकेको छ । बस रोकिएपछि धरानको प्रदर्शनमा जानका लागि हिडेका हिन्दु धर्मावलम्बीहरु बाटैमा अलपत्र परेका छन् ।
झापाबाट जाँदै गरेको बस जिल्ला प्रशासन कार्यालयले चारपानेमा रोकेको हो । प्रशासनले बाटो छेकेर अगि बढ्न नदिएपछि हिन्दु धर्मावलम्बीहरुले त्यसको बिरोध गरेका छन् ।
धरानमा प्रदर्शनका लागि हिडेका धर्मगुरु लक्ष्मीप्रसाद खतिवडाले संविधानले दिएको अधिकार प्रयोग गर्न राज्यले बञ्चित गर्नु दुःखद भएको बताए । उनले गौ हत्या बिरुद्ध आयोजित सभा बिथोलेर सरकारले हिन्दु धर्ममाथि प्रहार गरिरहेको आरोप लगाए ।
धरानमा केही दिन अघि गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसको बिरोधमा हिन्दु धर्मावलम्बीहरुले सोही स्थानमा शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने तयारी गरेका थिए ।
प्रदर्शनका क्रममा हुन सक्ने अप्रीय क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । धरान नगरपालिकाभरी कुनैपनि जुलुस तथा सभा गर्न प्रशासनले रोक लगाएको छ ।
प्रशासनको अवरोधका बाबजुदपनि धरान जाँदै गरेका हिन्दु धर्मावलम्बीलाई प्रत्येक जिल्लामा नै रोकिएको हो ।



























































