काठमाण्डाै । अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू भक्तपुरको सानोठिमीस्थित युनिसेफको बालसुधार गृहबाट भागेका छन् ।
आज दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको सुधार गृहले जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए ।
त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका थिए । सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए । आज त्यहाँबाट १ सय ५० भन्दा बढी भागेको बताइएको छ । फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको प्रजिअ रिजालले बताए । अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।