झापा । एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने भएको छ। एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयारी पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाली टोलीले एक हप्ता पाकिस्तानमै अभ्यास गर्नेछ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि हिजो भारतबाट नेपाल आइपुगेका छन् । एसिया कप अगष्टको ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात भदौको १७ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ ।

एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरी सकेको छ ।

नेपालको एसिया कप खेल्ने टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल