तुलसी सिटौला 

तेह्रथुमको आठराई सक्रान्तिबजारमा  नेवारी परम्परा अनुसार बृहत् लाखे जात्रा प्रदर्शन गरिएको छ । 

नेवारी कला र संस्कृतीको संरक्षण, सम्वर्द्वन  र प्रवर्द्वन  गर्ने उद्धेश्य अनुरुप लाखे नाच  प्रवर्द्वन समिति ताप्लेजुङ्ग आठराई  त्रिवेणी हाङपाङको  आयोजनामा शुक्रबार आठराईको सक्रान्तिबजारमा भब्य रुपमा लाखे नाच प्रदर्शन गरिएको हो । 

ढोलक र झ्याली बजाउंदै, नेवारी परम्परा, जातीय भेषभूषा र झांकी सहित सक्रान्तिबजारमा  बृहत् लाखे नाच प्रदर्शन गरिएको थियो । ढोलक र झ्यालीको तालमा ताल मिलाएर नाचेका लाखेहरुको प्रस्तुती हेर्दै दर्शकहरु मन्त्रमूग्ध भएका थिए । लाखेको स्वरुपमा प्रस्तुत भएका कलाकारहरुले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए । लाखेजात्रा हेर्न आठराई  लगायत सो क्षेत्रका दर्शकहरुको भिड लागेको थियो । जात्रामा नेवार समुदायका अग्रज तथा युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

लाखे नाच नेवार समुदायले बिशेष पर्वको रुपमा लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नाग पञ्चमीको दिन देखि शुरु हुने लाखे जात्रा ऋषि पञ्चमीको दिन विधिपूर्वक पूजाअर्चना गरि बिसर्जन गरिन्छ । राक्षसको स्वरुपमा खोपा र रङीबिरङगी वस्त्रसहित ब्यक्तिलाई सिंगारेर लाखे नचाउने प्रचलन परापूर्वकाल देखि नेवार समुदायमा रहदै आएको छ ।