विर्तामोड । कोरोनापछि उत्पन्न आर्थिक मन्दीका कारण बिर्तामोडको ब्यवसाय धरासयी बन्दै गएको छ । व्यवसायमा आएको मन्दीसँगै पसल बन्द गरेर पलायन हुने व्यबसायीको संख्या पनि उल्लेख्य छ । 

पुर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा नै व्यबसाय भटाभट बन्द हुन थालेपछि चुनौती थपिंदै गएको छ । कोरोनाकालमा लामो समय बन्द रहेका प्राय सबै व्यापारिक प्रतिष्ठान पुनः आर्थिक मन्दीका कारण थलिएका छन् । कतिपय व्यबसायीहरु बोहोनीसमेत गर्न नसकेको गुनासो गर्ने गर्दछन् । 

४० प्रतिशत ब्यवसायीले ब्यवसाय छोड्ने र ३० प्रतिशत नयाँ ब्यवसायी थपिने गरेको सरोकारवालाहरुले बताएका छन् । यहाँ १० प्रतिशत ब्यवसायीले सटर भाडा तिर्न नसकेर खाली गरेका छन् । 

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीका अनुसार बैंक तथा बित्तीय संस्थाको असहज लगानी, महङगो ब्याज, क्रेताको खरीदमा पहुँच नपुग्ने भएका कारण यतिबेला व्यबसाय धरासयी बनेको हो । मैनालीले राज्यले व्यवसायीलाई संरक्षण गर्ने नीति अघि सार्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

मैनालीका अनुसार झापामा स्थापित उद्योगहरुको अवस्था पनि नाजुक बन्दै गएको छ । कृषिजन्य उद्योग जसले अन्तराष्ट्रिय बजारमा सामान निर्यात गर्छ त्यस्ता उद्योग सामान्य अवस्थामा चलिरहे पनि अन्य प्रकारका उद्योगको अवस्था दयनीय बन्दै गएको छ । रियल स्टेटको कारोबार पनि प्रायःसुन्य भएको छ । जसमा व्यवसाय धरासायी बनेकै अवस्थामा स्थानीय सरकारले लिने करको दायरा बढ्नुले पनि व्यवसायी थप मर्कामा परेको उनी बताउँछन् । प्रत्येक उद्योगले आफ्नो उत्पादन आधा घटाएको भन्दै उनले उत्पादित सामाग्री समेत गोदाममै थन्क्याउन बाध्य हुनुपरेको मैनालीको भनाईं छ । 

विर्तामोडका ठूला व्यवसायिक मलका पनि आधामात्रै सटर खुल्ला हुनेगरेका छन् । विर्तामोडको सीटी सेन्टर २ वर्षअगाडी पूरै व्यवसायले भरिएको थियो । अहिले त्यहाँ ५० प्रतिशत भन्दाबढी सटर बन्द भएका छन् । १० प्रतिशत सटर खाली छन् भने ३० प्रतिशतमा नयाँ व्यवसायी आउने गरेका छन् । सीटी सेन्टरका एकजना संचालक उमेश राउतका अनुसार आर्थिक मन्दी त छदँैछ अरुको देखासिखीमा लगानी गरेका व्यापारीले ग्राहक नपाउँदा व्यवसाय टाट पल्टिएको बताए ।

राउत आफैँ विज्ञापन क्षेत्रका व्यवसायी हुन् । उनीजस्तै व्यवसाय गर्ने व्यवसायी ६० प्रतिशत पलायन भइसकेको उनको भनाईं छ । अहिले धेरै नाफा कमाउने भन्दा पनि व्यवसायलार्ई कसरी टिकाइराख्ने भन्ने नै चुनौति रहेको उनी बताउँछन् । 

विर्तामोडमा व्यवसायमा मन्दी देखिएपनि ठूला मल र होटल निर्माणमा भने व्यवसायीले लगानी थपिरहेको पाइन्छ । देशमै चर्चित भाटभटेनी जस्ता ठूला महल बन्ने क्रम जारी छ । असोज ४ गतेदेखि सञ्चालनमा आउने भाटभटेनीको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । 

केही वर्षअघि राम्रै व्यवसाय संचालन गरेका विर्तामोडका कृष्ण भण्डारीले व्यवसाय छोडेका छन् । आफ्नो सामान घरमा ल्याएर सटर जिम्मा लगाएको उनी बताउँछन् । वित्तीय संस्थाको चर्को ब्याज, सितिमिति ऋण नपाइँने, पाएपनि व्यवसाय नचल्दा किस्ता बुझाउन समस्या परेका कारण पसल छोडेको हुँ उनले भने । 

होटल व्यवसाय पनि अहिले संकटमा छ । विर्तामोडमा मात्रै सानाठूला गरी सयाै होटल सञ्चालनमा छन् । ति मध्ये धेरैले व्यवसाय छोडेका छन् । २ वर्षअघि दैनिक करिव लाखको हाराहारीमा कारोबार हुने होटलमा अहिले वोहनी गर्न समेत मुस्किल परेको व्यवसायी बताउँछन् । 

आर्थिक मन्दीले सबै क्षेत्रका व्यवसायीलाई असर पुगेको छ । ठूलादेखि साना व्यवसायी, उद्योगदेखि वित्तीय संस्थासमेत धरासायी बनेका छन् । राज्यले सरल नीति र करमा छुट नगरे धेरै व्यवसायी घरबासविहिन हुने अवस्था सृजना हुने व्यवसायीको गुनासो छ ।