बिर्तामोड । भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका भुटानी मानवअधिकारकर्मी नेता टेकनाथ रिजालले त्यस प्रकारको गल्ती गरेको हुन नसक्ने बताएका छन् ।
पौडेलले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै रिजालले गैर भुटानीलाई शरणार्थी प्रमाणित गर्न भूमिका खेल्न नसक्ने बताएका हुन् । ‘उहाँसँग मेरो भेट भइरहेको थियो, उहाँले त्यस प्रकारको गल्ती गर्नुहुन्छ भन्ने कुरामा मलाई बिश्वास छैन, नेता पौडेलले भने–‘अब शंकाको हिसाबमा पक्राउ पर्नु भएको छ, पक्का पनि अदालतले न्याय दिने छ ।’
कतिपय सञ्चारमाध्यममा रिजाललाई भुटान पिपल्स पार्टीको अध्यक्ष, नेता भनेर सार्वजनिक भएकोप्रति पौडेलले आपत्ति जनाए । उनले भने–‘उहाँको यो पार्टीसँग कुनै सम्बन्ध छैन । उहाँ मानवअधिकारको क्षेत्रमा काम गर्ने मान्छे हो ।’ झापामा रहेका रिजाललाई नेपाल प्रहरीले गत जेठमा पक्राउ गरेको थियो ।
रिजालमाथि केही नेपालीहरुलाई भुटानी मानवअधिकारकर्मीकाे परिचयपत्र बनाइदिएकाे आराेप छ ।































































