बिर्तामाेड । बिर्तामाेड नगरपालिकाले चालु आबमा अस्वभाविक कर बृद्धि गरेकाे भन्दै नगरका क्रियाशिल दलहरु आन्दाेलनमा उत्रिएका छन् ।

नगरले एकिकृत सम्पति करमा गरेकाे बृद्धिमा फेरबदल नगरेपछि उनीहरुले अध्ययन समिति गठन गरेका छन् । 

नेकपा एमाले बाहेकका दलहरूको राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले नगरपालिकाले के कति कर वृद्धि गरेको छ भनेर अध्ययन गर्न इन्जिनियर रोशन सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । जसको सदस्यहरूमा जेबी जवेगु , प्रकाश सिटौला , कृष्ण पौडेल र अर्जुन उप्रेती रहेका छन् ।

करको विषयमा ज्ञान भएका व्यक्तिहरूको अध्ययन समिति निर्माण गरिएको राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । त्यस समितिले अध्ययन गरिसकेपछि बिर्तामोड नगरपालिकासँग कर वृद्धिलाई निश्चित समय सीमाभित्र समायोजन गर्न माग गरिने बताउँदै प्याकुरेलले यदि नगरपालिकाले बेवास्ता गरे सर्वदलीय रुपमा सङ्घर्ष गर्ने निर्णयसमेत गरिएको जानकारी दिइन् ।

यसअघि गत सोमवार बिर्तामोड नगरपालिकाले अत्यधिक कर वृद्धि गरेको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएका थिए ।

बैठकमा नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेश क सभापति लक्ष्मीप्रसाद आचार्य , काँग्रेसका बिर्तामोड नगर सभापति भोजराज सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा, राप्रपाका क्षेत्र नं २ प्रदेश क अध्यक्ष शङ्कर रिजाल, जिल्ला सदस्य लक्ष्मी ढकाल, बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेल, एकीकृत समाजवादीका बिर्तामोड अध्यक्ष श्रीप्रसाद सिटौला ,कमल कडरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका अर्जुन उप्रेती, कमल उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।