बिर्तामाेड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कारागारमा कैदीबन्दीले गरेको विरोध साम्य भएकाे बताएका छन् । 

आज दिउँसो ३ बजेतिर मनोज लावती नाम भएका कैदीलाई झुम्का सरुवा गर्न लाग्दा कैदीबन्दीले विरोध जनाउँदै कारागारमा हुलदंगा गरेका थिए ।

हुलदंगाको क्रममा कारागारभित्र आगजनी भएको थियो भने भित्रबाट ढुंगामुढा भएको थियो । कैदीबन्दीले प्रहरी र कारागार प्रशासनलाई भित्र पस्न दिएका थिएनन् ।

‘सरुवा भएका कैदीलाई फेरि भित्र (कारागारमै) पठाइएको छ,’ प्रजिअ पोखरेलले भने–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । के के क्षति भयो भनेर हेर्ने काम सुरु भइसकेको छ ।’

उहाँले कैदीबन्दीको हुलदंगाका क्रममा कुनै मानवीय क्षति नभएको बताए । सरकारी सवारी साधनहरु भने ढुंगामुढाले क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।