झापा । निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।

शुक्रवार उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए ।

उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न गरे । 

उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताए । 

उनले निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए । 

विरोध कार्यक्रममा बोल्दै महासङ्घका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिइरहेको आरोप लगाए । उनले सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए । 

लामिछानेले निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी दिए ।