झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छिन् । उनी नेपालबाट युरोपेली लिग खेल्ने पहिलो खेलाडी बन्ने संघारमा छिन् ।

इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा अनुबन्धित भएकी सावित्रा मंगलबार विहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी मंगलबार साँझ इजरायल पुग्ने तालिका रहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता रहेकी सावित्राले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन् । उनले खेलेका राष्ट्रियस्तरका ४५ खेलमा ४४ गोल गरेकी छिन् ।

नेपालमा शसस्त्र प्रहरीकाे एपिएफ क्लबबाट घरेलु लिगमा लगातार च्याम्पियन बनेकी उनले भारतीय लिगमा पनि सफलता हासिल गरेकी छिन् ।

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम केरालालाई लगातार उपाधि दिलाएकी थिइन् । 

सावित्राले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् ।