झापा । पशु चौपायामालाग्ने लम्पी स्किन रोग मुलुकभरी नै फैलिएको छ ।२०७७ साल साउनमा मोरङको सुन्दर हरैंचा नगरपालिकामा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो ।
तर, अहिलेसम्म देशका ७६ जिल्लामा लम्पी स्किन रोग फैलिएको पशुसेवा विभागले जनाएको छ । लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट पशु चौपायामालाग्ने यो रोगका कारण गाईभैसीका खुट्टा सुनिने, जीउभरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन् ।
पशुसेवा विभागको एक तथ्याङ्कअनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढि चौपायामा याे रोग देखा परेको छ । झण्डै पाँचलाख चाैपाया निको भएपनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा अझै रोग सक्रिय रूपमा रहेको जनाएको छ ।
लम्पी स्किनको उपचारका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको जनाउँदै विभागले २ लाख २२ हजार खोप लगाइएको पशु सेवा विभागले जनाएको छ । तर, किसानहरू भने रोग नियन्त्रणमा आउन नसकेको भन्दै आन्दोलित भएका छन् ।
समयमा पशु चौपायालाई खोपको व्यवस्था गर्नका साथै त्यसबाट प्रभावित किसानलाई उचित रोहतको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन् ।



























































