बिर्तामाेड । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नु पर्छ ।’

उनले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न समेत आग्रह गरे । डा. महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सजग समेत बताए ।

अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम स्रोत जुटाउने भएको भन्दै उनले राज्यका आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा अर्थ मन्त्रालय मातहतका कर्मचारी रहेको बताए । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको भएको उनको भनाइ छ ।

अहिले राजस्वको हिस्साले नपुगिरहेको सन्दर्भ निकाल्दै उनले राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता औंल्याए ।