काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएकाे छ ।

लुम्बिनीले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पाेखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायाे । पाेखराका आन्द्रेस गाैसले कीर्तिमानी शतक बनाए । एनपीएलमा पहिलाे शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चाैकाकाे मद्दतमा १ सय ४ रन जाेडे । अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमै अधर्शतक बनाए । यस्तै पाेखराका दिनेश खरेलले ६१ रन बनाए ।

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी पनि हाे । यस्तै आन्द्रेस र दिनेशबीच एनपीएलकै उच्च रनकाे साझेदारी भएकाे छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्ष ठाकरले विराटनगर किङ्ग्ससँगकाे खेलमा तेस्रो विकेटका लागि नटआउट १ सय १६ रनको साझेदारी गरेका थिए ।

यस्तै पोखराले पावरप्लेमा ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान पनि बनाएकाे छ । यसअघि जनकपुर बाेल्ट्सले कर्णाली याक्ससँगकाे खेलमा पावरप्लेमा कुनै विकेट नगुमाई ५६ रन बनाएकाे थियाे ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए । ५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे । यस्तै टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए ।

याेसँगै पाेखराले प्रतियाेगितामा पहिलाे जीत हात पारेकाे छ । पाेखराले यसअघि लगातार दुई खेल हारेकाे थियाे । लुम्बिनीले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ ।

एनपीएलमा भाेलि पहिलाे खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स तथा दाेस्राे खेलमा दिउँसाे १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स खेल्दैछन् ।