झापा,
लामो समयदेखि विवादमा रहेको ५१ बिगाह बसपार्क क्षेत्रको जग्गा प्रकरणमा अन्ततः सहमति भएको छ।
बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको ५१ बिगाह जग्गाको रोक्का फुकुवा गर्न पहल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय सर्वपक्षीय बैठकले गरेको हो।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा अर्जुनधारा नगरपालिकाको कार्यालयमा बसेको बैठकले ६ बुँदे समझदारी गर्दै लामो समयदेखिको विवाद समाधानतर्फ मोडेको छ।
सहमतिसँगै बसपार्क क्षेत्रमा राखिएका ‘प्रवेश निषेध’ लेखिएका होर्डिङ बोर्ड र ब्यानर हटाइएका छन्। अब राजनीतिक दल र उम्मेदवारहरूलाई उक्त क्षेत्रमा प्रवेश गरी मत माग्न र चुनावी गतिविधि सञ्चालन गर्न बाटो खुला भएको छ।
विगत लामो समयदेखि जग्गा विभागीय रूपमा रोक्का भएपछि स्थानीयबासीहरू आन्दोलित भएका थिए। उनीहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधिमा रोक लगाउने घोषणा गरेका थिए। तर अब आन्दोलनरत् पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिँदै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहमति जनाएको छ।
राजनीतिक दलहरूले पीडितलाई न्याय दिलाउन जस्तोसुकै अवस्थामा पनि साथ दिने प्रतिबद्धता जनाएका छन्। साथै समस्या समाधान नभए कानुनी उपचारमा समेत सामूहिक सहयोग गर्ने निर्णय गरिएको छ।
सर्वपक्षीय सहमतिसँगै झापाको बिर्तामोड–अर्जुनधारा क्षेत्रमा देखिएको तनाव मत्थर भएको छ। अब फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने तयारी भइरहेको छ।



























































