सर्प वर्षलाई अन्त्य गरी घोडा वर्षका रूपमा मनाइने गुरुङ जातिहरूको महान पर्व तमु ल्हाेसार भव्यताका साथ बिर्तामोडमा मनाइने भएको छ । झापा भरका गुरुङ समुदायका ८ हजार भन्दा बढीले सामूहिक रूपमा झापाको डोमालाल राजवंशी रङ्गशालामा ल्हाेसार पर्व मनाउन गइरहेका छन्। प्राकृतिक पुजकका रूपमा रहेका गुरुङ समुदायले विभिन्न १२ वटा पशुपंक्षीहरूलाई देवताको रूप मानी पूजा गर्ने गरेका हुन्। विशेषगरी खानपिन र रमाइलो खेलकुदतर्फ आकर्षित रहने गुरुङ समुदायले यसवर्ष पनि भव्यताका साथ पर्व मनाउन लागेको हो।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइने भएको हो ।
झापाको बिर्तामोड नगरपालिका–३ स्थित तमु संग्रहालयमा आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय सदस्य एवम् कोशी प्रदेश प्रमुख आनन्द गुरुङले यस वर्ष चार दिनसम्म हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाउन लागिएको जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्य रहने उहाँले बताउनुभयो ।
पर्वको अवसरमा पुस १२ गते बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिमतर्फको खुला मैदानमा ‘गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम’ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
परिषद्का केन्द्रीय सल्लाहकार समिति सदस्य जलकुमार गुरुङले पछिल्लो समय नेपालमा हरेक चाडपर्व हरेक जातजातिले समान रुपले मनाउन थालेको बताउनुभयो । सोही अनुरूप तमु ल्होसार पर्व पनि साझा पर्वका रूपमा स्थापित भई सबैले मनाउन थालिसकेको उल्लेख गर्नुभयो । पर्वको अवसरमा आयोजना हुन लागेको ‘सांस्कृतिक तथा खेलकुद कार्यक्रम’मा सबैले सहभागिता जनाएर साझा पर्वका रूपमा तमु ल्होसार मनाउन उहाँले आह्वान समेत गर्नुभयो ।
बहुजाति, बहुभाषाभाषी, बहुधार्मिक, संस्कार, संस्कृति तथा रीतिथितिको विविधता भएको नेपाली समाजमा आपसी सद्भाव मजबुत बनाइ राख्न गुरुङ समुदायले मनाउने तमु ल्होसारले मद्दत पुगोस् भन्ने मूल उद्देश्य रहेको परिषद्का झापा अध्यक्ष जगतमान गुरुङले बताउनुभयो ।
तमु ल्होसार–२०८२ का परिषद्का उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भागिमान गुरुङले ‘सांस्कृतिक तथा खेलकुद कार्यक्रम’मा आठ हजार भन्दा बढी मानिसको सहभागिता रहने बताउनुभयो । कार्यक्रममा गुरुङ समुदायको विशेष परिकारका साथै राष्ट्रियस्तरका कलाकारहरूबाट सांगीतिक कार्यक्रम, छेलो हान्ने, डोरी तान्ने लगायतका खेलकुदका कार्यक्रम हुने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा परिषदका जिल्ला उपाध्यक्ष उदय गुरुङ, पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, परिषद्का नगर अध्यक्ष कुमार गुरुङ, महिला परिषद् झापाकी अध्यक्ष दुर्गा गुरुङ, विद्यार्थी अध्यक्ष नरेश गुरुङ लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन परिषदका जिल्ला सचिव भागीमान गुरुङले गर्नुभएको थियो ।































































