श्रम संस्कृति पार्टी जिल्ला कमिटी झापाको आयोजनामा यही पुष ९ गते बुधबार बिर्तामोडमा सो पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङले सम्बोधन गर्ने भएका छन्। आज सो पार्टीको जिल्ला कमिटीले झापाले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो।
केन्द्रीय कमिटीका पदाधिकारीको उपस्थितिमा बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो। जिल्ला कमिटी झापाकाका अध्यक्ष केशवराज भण्डारीले मुलुक निर्माणका लागि श्रम शक्ति आवश्यक रहेको र सो पार्टीले श्रम संस्कृतिको विकास गरी मुलुकलाई समुन्नत बनाउने दाबी गरेका छन्।
पार्टी निर्माण भएको केही महिनामै देशविदेशबाटै व्यापक समर्थन रहेको दाबी गरिएको छ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाकाे निर्वाचनमा ७७ वटै जिल्लामा उम्मेदवारी प्रस्तुत गर्ने तयारी पार्टीको रहेको जानकारी दिएको छ।
झापा जिल्लाका ६ वटा स्थानीय तहमा कमिटी गठन गरिसकेको जानकारी गराइएको छ। अब केही दिनभित्रमै १५ वटै पालिकामा कमिटी गठन गरी केन्द्रीय निर्वाचनका लागि उम्मेदवार छनोट गरिने समेत आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
सोही अभियान अन्तर्गत केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङले बिर्तामोडको सिटी सेन्टरमा पार्टीको धारणा र रणनीतिका बारेमा जनतालाई सुसुचित गराउन आउनुहुने जनाइएको छ। देशका विभिन्न स्थानमा जागरण सभा सम्पन्न गरिसकेको सो पार्टीले झापामा पनि जागरण अभियान सुरु गरेको छ। पुराना दलहरूले वर्षौंसम्म पनि मुलुक परिवर्तनमा खासै योगदान गर्न नसकेको भन्दै जनताले नयाँ दल रुचाएको उनीहरूको दाबी छ।
पत्रकार सम्मेलनमा झापाबाट पाँचवटै क्षेत्रबाट उम्मेदवार चयन गरी सशक्त रूपमा निर्वाचनमा प्रस्तुत हुने समेत दाबी गरिएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूदेखि स्थानीय तहका नेताहरूसम्मको उपस्थिति रहेको थियो।































































