झापा – श्री राधामाधव भजनस्थलीले आगामी २०८२ साल साउन ३१ गते शनिबार विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। संस्थाका अनुसार अग्रसेन भवन शनिश्चरे रोडमा श्रीकृष्ण जन्मष्टमीको भव्य उत्सव आयोजना हुँदैछ। बिहान ७ बजेदेखि मध्यरात १२ बजेसम्म निरन्तर आध्यात्मिक कार्यक्रम किर्तन प्रवचन नाटक तथा सांस्कृतिक प्रस्तुति हुने भएको जनाइएको छ ।कार्यक्रम बिहान ६:०० बजे मंगला आरतीबाट सुरु हुनेछ र दिनभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सम्पन्न हुनेछन्।

कार्यक्रम तालिका अनुसार  ६:०० बजे मंगला आरती, ७:३० बजे गुरु पूजा, ८:०० बजे श्रीमद्भागवत कक्षा, ९:०० बजे विशेष अतिथिको सम्मान, १०:०० बजे सांस्कृतिक कार्यक्रम, र १२:३० बजे महाप्रसाद वितरण गरिनेछ।

यसअघि अघिल्लो दिन बालाजी मन्दिरमा आयोजना हुने रथयात्रामा समेत संस्थाले सहभागिता जनाउने र सो अवसरमा भक्तजनलाई महाप्रसाद वितरण गर्ने जनाएको छ। सो धार्मिक यज्ञमा ५००० भन्दा बढी भक्तालुलाई महाप्रसाद वितरण गरिने आयोजकले लक्ष्य लिएको छ। कार्यक्रममा भक्तिसिद्धान्त दास ब्रह्मचारी र  सिद्धस्वरूप दास ब्रह्मचारीले प्रवचन दिनुहुनेछ।
कार्यक्रममा प्रदेश प्रमुख ,सभामुख, नगर प्रमुख ,नगर उपप्रमुख ,जिल्ला प्रशासन अधिकृत लगायत उच्च पदस्थ व्यक्तिहरूको आतिथ्यता रहने जनाइएको छ।

श्री राधामाधव भजनस्थली २०८० साल कात्तिक ३ गते स्थापना भएको हो। यसलाई पवित्र भक्तिसिद्धान्त दास ब्रह्मचारीले स्थापना गरेका हुन्, जसले १९९१ मा ISKCON नेपाल स्थापना गरी २०१४ सम्म प्रमुख आध्यात्मिक नेता, गुरु र निर्देशकको रूपमा सेवा गरेका थिए।

संस्था ब्रह्म–माध्व–गौडीय सम्प्रदायअन्तर्गत पर्ने धार्मिक संस्था हो, जसको प्रमुख उद्देश्य भगवद्भक्ति र श्रीमद्भागवतका शुद्ध शिक्षालाई विकृतिबिना जनमानसमा फैलाउनु रहेको छ।

संस्थाले सबै श्रद्धालु, भक्तजन तथा सर्वसाधारणलाई निर्धारित मिति र समयमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
रथ यात्रा कार्यक्रममा २० हजारभन्दा बढी भक्तको उपस्थिति रहने आयाेजकको अपेक्षा रहेको छ। सो कार्यक्रममा बिर्तामोड चन्द्रगढी भद्रपुर दमक सुरुङ्गा काँकरभिट्टा लगायतका नजिकका जिल्लाहरूबाट र भारतको बिहार सिलगुडी जस्ता स्थानहरूबाट हजारौं भक्तजनको आगमन हुने अपेक्षा  गरेको छ।
सो अनुष्ठानमा ७ लाख बढी खर्च हुने अनुमान गरिएको छ। सबै खर्च श्रद्धालुबाट जुट्ने आयोजकले अपेक्षा गरेको छ।
सो कार्यक्रमको प्रमुख उद्देश्य भगवतीय र श्रीमद्भागवतका शुद्ध र असल शिक्षालाई कुनै पनि विकृत वा मिश्रण नगरी जनमानसमा फैलाउनु रहेको बताइएको छ ।।