पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले च्याम्पियन्स लिगको उपाधि जितेपछि क्लबका समर्थकहरूले उत्सव मनाउने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको छ । यस्तै झडपका क्रममा सयौँ पक्राउ परेका फ्रान्सेली गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दक्षिण–पश्चिमी शहर ड्याक्समा शनिवार बेलुकी छुरा प्रहारबाट एक १७ वर्षीय किशोरको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै मध्य पेरिसमा स्कुटर चलाइरहेका २३ वर्षीय युवकको पनि गाडीको ठक्करबाट ज्यान गएको खबरमा उल्लेख छ ।
फ्रान्सेली गृह मन्त्रालयले झडपमा १ सय ९२ जना घाइते भएका र ५ सय ५९ जनालाई पक्राउ गरिएको बताएको छ । पक्राउ परेकामध्ये ४ सय ९१ जना पेरिसका हुन् । झडपका क्रममा ६४ वटा गाडीमा आगजनी भएको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच प्रहरीले पीएसजीको विजय जुलुस जारी रहने बताएको छ । गएराति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजीले पहिलो पटक युरोपको सबैभन्दा ठूलो उपाधि जितेको थियो ।