बिर्तामोड । झापा जिल्लामा सञ्चालित क्यासिनोमा नेपालीहरूले नै जुवा खेलेर सम्पत्ति सिरीखुरी पारेको प्रति झापा जिल्ला प्रहरीले गम्भीर चासो देखाएको छ। पछिल्लो क्रममा नेपालीहरूले नै क्यासिनोमा जुवा खेलेर आर्थिक क्षति बेहोरेपछि व्यवसायबाट पलायन र कतिपयले आत्महत्यासम्म गरेकाले त्यसप्रति प्रहरीले चासो व्यक्त गरेको हो।
नेपालको कानुनमा कुनै पनि नेपाली नागरिकले क्यासिनोमा प्रवेश गरी जुवा खेल्न प्रतिबन्ध गरेको छ। गैरकानुनी रूपमा क्यासिनो प्रवेश गरी जुवा खेलेर आर्थिक क्षति बेहोरेपछि बिर्तामोडका धेरै व्यवसायीहरू पलायन भएका छन् भने केहीले आत्महत्या समेत गरेको घटना बाहिर आएको छ।
मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा परिचयत्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी प्रहरी प्रमुखका रूपमा आएका एसपी राजन लिम्बुले यसप्रति गम्भीरतापूर्वक प्रहरीले कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। झापाका दुईवटा फाइभ स्टार होटलमा क्यासिनो सञ्चालन हुँदै आएको छ। मेचीनगरको मेची क्राउन र बिर्तामोडको किङ्स बेरी होटलले क्यासिनो सञ्चालन गर्दै आएका छन्।
दुवै ठाउँमा नेपालीहरूलाई जुवा खेल्न प्रतिबन्ध छ। तर विभिन्न पावर र पैसाको भरमा नेपालीहरूले जुवा खेल्दै आइरहेको तथ्य बाहिरिएको छ। यसरी जुवा खेल्दा प्रहरीले देखेको नदेखै गरेको आरोप लाग्ने गरेको छ। जुवाकै कारण बिर्तामोडका दर्जनभन्दा बढी व्यवसायी आफ्नो व्यवसाय छोडेर भागेका छन् भने कतिपय व्यवसायीले आत्महत्या समेत गरेका छन्। प्रहरी प्रमुख लिम्बूले यस्तो कार्य प्रतिबन्धित रहेको र आगामी दिनमा प्रहरीले निगरानी बढाउने प्रतिबद्धता जाहेर गरेका छन्।
उनले जिल्लामा लागुऔषध नै मुख्य समस्या रहेको बताए । झापामा लागुऔषध, चोरी, सवारी दुर्घटना, ठगी जस्ता समस्याहरु रहेको प्रहरी प्रमुख लिम्बुको भनाई थियो । उनले सबैसँग समन्वय गरेर लागुऔषध नियन्त्रणसँगै जिल्लामा विद्यमान समस्याहरुको समाधान गर्दै जाने बताए ।
झापामा मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङमा ब्लबुकमा फोटो र चेचिस नम्बर समेत हेर्न निर्देशन दिइसकेको बताए । चोरी पैठारी नियन्त्रण, ब्लाकमेलिङ, सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधिलाई प्रहरीले निगरानी गर्ने बताएका छन् ।
झापाको शान्ति सुरक्षाका लागि प्रतिवद्ध भई काम गर्ने बताएका लिम्बुलाई पत्रकारहरुले विभिन्न समस्या समाधानका लागि सूझाव दिएका थिए ।