बिर्तामाेड । झापाका प्रतिष्ठित समाजसेवी एवं सफल व्यवसायी विनोद बस्नेतले आत्महत्या गरेका छन्। सकारात्मक सामाजिक छवि बनाएका बस्नेतले आत्महत्या किन गरे भन्ने अहिले सर्वत्र चासोको विषय बनेको छ। आज बिहान खाना खानुभन्दा अघि केही समय आराम गर्छु भनेर कोठामा पसेका बस्नेतले कहिल्यै नफर्कने बाटो किन रोजे?
सामाजिक गतिविधिमा अथवा दैनिक दिनचर्यामा कुनै पनि समस्या नदेखिएको उनका साथीहरुले बताउने गरेका छन्। उनका परिवारका सदस्यले समेत अचानक यस्तो निर्णय गर्नु आश्चर्यको विषय भएको बताएका छन्। विनोद बस्नेतलाई आर्थिक र सामाजिक क्रियाकलापमा कुनै समस्या नरहेको उनका निकटका साथीहरूले बताएका छन्। उनले के कारणले आत्महत्या गर्नुपर्यो भन्ने कुरा पछि खोल्न सक्ने उनीसँग निकट रहेका साथीभाइहरूले चर्चा गरिरहेका छन्। बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् ।

मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।
लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।



























































