काठमाण्डाै – पर्सामा इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले पर्सागढी नगरपालिका वडा नम्बर ५ का रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा र मुख्तार मियाँकी ४ वर्षीया छोरी अफसानाको पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै जना बालिका बिहान बाख्रा चराउन गएका थिए । खेल्ने क्रममा वीरगञ्ज महानगरपालिका–२ का सन्तोष साहले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा उनीहरू डुबेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।