काठमाण्डाै – स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय गरेको छ ।

बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमा दाबी बढेको र यसले भुक्तानीमा समस्या देखिएको निष्कर्ष निकालेको छ ।

बोर्डले अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पचात्रार गरेको छ । बोर्डको अनुरोधलगत्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य उपचारको मापदण्डको पूर्ण कार्यान्वयन र दोहोरोपना हटाउनका लागि सुझाव कार्यदल गठन गर्नुभएको छ ।

बोर्डले आम्दानी बढाउने उपायस्वरूप स्वास्थ्य बीमा चिठ्ठा कार्यक्रम सञ्चालनका लागि सरकारसँग अनुमति मागेको छ । विभिन्न देशमा अभ्यासमा रहेको यस्तो चिठ्ठाबाट कोषमा स्राेत बढाउन सकिने निष्कर्ष बोर्डको छ ।

त्यसैगरी बोर्डले मेडिकल सामग्रीको उत्पादन, रिचार्ज कार्ड, डिजिटल बैंकिङ, हवाई टिकट, जाँड–रक्सी, चिनीजन्य वस्तुलगायतबाट सरकारले उठाउने रकमको निश्चित हिस्सा सोझै स्वास्थ्य बीमा कोषमा ल्याउन सकिने समेत जनाएको छ । साथै आवश्यक व्यवस्था गरिदिन बोर्डले सरकारसँग अनुरोध गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताउनुभयो ।

बोर्डको आग्रहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यसअघि सबै सङ्घीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत सोझै बीमा कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको थियो ।