बिर्तामोडस्थित अग्रसेन भवनन स्थापनाको २५ औँ वर्ष पुगेको उपलक्ष्यमा भव्य समारोहका बीच रजत जयन्ती मनाईने भएको छ।

रजत जयन्तीको अवसरमा अग्रसेन भवनको माथिल्लो तलामा निर्माण गरिएको कार्यक्रम हलको समेत उद्घाटन गरिने भएको छ। साथै राम नवमीको अवसरमा संस्थाको रजत महोत्सवकाे अवसरमा अग्रसेन भवन र बालाजी धाम व्यवस्थापन समितिद्वारा नौ दिवसीय विभिन्न अनुष्ठान  कार्यक्रम गर्ने जनाइएको छ ।

IMG-20250330-WA0008

अनुष्ठानमा विद्वान गुरुवर एवं राम कथाका प्रख्यात कथावाचक श्री नवराज प्रपन्नजी महाराजले कथावाचन गर्नुहुने जनाइएको छ। कथावाचन चैत्र २२ गतेदेखि चैत्र ३० गतेसम्म हुनेछ।

रजत जयन्तीको अवसरमा सभाहल उद्घाटन गरिनेछ। बिर्तामोडमै सबैभन्दा आधुनिक सुविधा सम्पन्न सो हल हुने जनाएको छ । सभाहलको उद्घाटन समाजसेवी जगदीश प्रसाद मिण्डाले गर्नेछन्।

रजत जयन्तीकै अवसरमा विभिन्न सामाजिक कार्यहरू समेत गरिने जनाइएको छ। आइतबार अग्रसेन भवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका अध्यक्ष एवं कार्यसमिति अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले कार्यक्रम अत्यन्तै मर्यादित हुने जनाएका छन्।

अनुष्ठानकै अवसरमा २२ गते कलश यात्रा मानस ग्रन्थ शोभायात्रा  बिहान ११ बजे सुरु हुनेछ। सोही दिनदेखि कथावाचन पनि सुरु हुनेछ। चैत्र २५ गते सोमबार बिहान ११ बजेदेखि बृहत रक्तदान कार्यक्रम आयोजना हुनेछ। सो कार्यक्रममा मारवाडी युवा मञ्चले सहयोग गर्नेछ। चैत्र २६ गते २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिनेछ। सो कार्यक्रमको संयोजन पशुपति गौशला धर्मशाला र रोटरी क्लब अफ बिर्तामोडले सहकार्य गर्नेछ। त्यसैगरी चैत्र २९ गते  बृहत याेग शिविर आयोजना गरिनेछ। योग शिविर नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको सहयोगमा सम्पन्न हुनेछ। अनुष्ठानको अन्तिम दिन चैत्र ३० गते महाप्रसाद वितरण गरी कार्यक्रम सम्पन्न गरिनेछ।

पछिल्ला दिनमा कार्यक्रम गर्न व्यवस्थित हल अभाव हुँदा कार्यक्रम व्यवस्थित नभैरहेको स्थितिमा अग्रसेन भवनले व्यवस्थित हल निर्माण गरेको छ। त्यसका साथै  स्टार लेभलका अतिथि बस्नका निम्ति रूमहरू व्यवस्थित गरिएको छ। अत्यन्तै न्यून शुल्कमा बस्न सकिने ती रुमहरू फाइभ स्टार होटल सोसरहका रहेका छन् । यसका साथै १०० जनाभन्दा बढीलाई व्यवस्थित तरिकाले खान बस्नको व्यवस्था अग्रसर भवनले सहजै गर्ने अवस्था अब सिर्जना भएको कार्यक्रम संयोजक नवीनकुमार गोयलले बताएका छन् । रजत महोत्सव सम्पन्न गर्नका लागि मारवाडी सेवा समिति अन्तर्गतका विभिन्न १४ वटा समूहहरुले सहयोग गर्ने भएकाे आयोजक समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिएका छन्।