काठमाडौँ : काठमाडौँ महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार चैत १५ गते आयोजना गरिएको कार्यक्रमबाट सडकमा जथाभावी फोहर गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको छ ।
महानगरले शनिबार शाहको नाममा जरिवाना पत्र पठाइएको जानकारी दिएको हो । ‘महानगर-३२ तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना बेहोरा निर्देशानुसार अनुरोध गरिन्छ’‚ महानगरले लेखेको पत्रमा भनिएको छ।
यसका साथै महानगरले सोही दिन तीनकुने क्षेत्रमै आयोजना गरिएको कार्यक्रमबाट त्यस क्षेत्रका रूख, विरुवा, रेलिङ तोडफोड गरेबापत ४० हजार र तीनकुने आइल्याण्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना गराएको छ।
बालकुमारी क्षेत्रको सडकमा फोहरमैला गरी वातावरण प्रदूषण गरेकाले एक लाख, जडिबुटी क्षेत्रको सडकमा जथाभावी गरेकोमा एक लाख रुपैयाँ जरिवाना गराएको छ । तीनकुनेमा जथाभावी फोहरमैला गरेकोमा एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
दमकल फुटाएकाले क्षतिपूर्तिबापत एक लाख ३० हजार रुपैयाँ तिर्न पनि भनिएको छ।
सोही कार्यक्रमबाट महादेवस्थान, कोटेश्वर क्षेत्रका सडकमा फोहरमैला गरेकोमा एक/एक लाख रुपैयाँ तिराएको हो।



























































