झापा : झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ । बिर्तामोडमा कारको ठक्करबाट मेचीनगर नगरपालिका–१२ निवासी गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकाको मृत्यु भएको छ । शनिबार राति साढे १० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र– १–००१–००२ च ०१९० नम्बरको कारले पैदल यात्री बालक रोकालाई ठक्कर दिएको थियो । 

टाउको र दुवै हात खुट्टामा चोट लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बीएण्डसी हस्पिटलमा  बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि कार चालक मेचीनगर– १ निवासी २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, शिवसताक्षी नगरपालिका– ७ स्थितमा कनकाई सिचाई आयोजनाको नहरमा डुबेर स्थानीय राजवीर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा नहरमा नुहाउन गएकी बालिका अपराह्न ४ बजे नहरमा डुबेको अवस्थामा मृत फेला परेको थियो । 

स्थानीयले घटनाबारे जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली घटनास्थल पुगेका थिए । कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।