विराटनगर : पाँच महिनादेखि कोशी प्रदेशसभा सभामुखविहीन छ। गत साउनमा बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरू सहमत भएका छन्।
पुस २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले सहमति जनाएका हुन्। आज (पुस १८) सम्म सभामुख चयन प्रक्रिया सक्ने तयारी रहेको भए पनि एमालेले समय माग गरेपछि एकसाता लम्बिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।
उनले भने, ‘हामीले आजसम्म सकौँ भन्ने चाहेका थियौँ, तर एमालेले समय मागेका कारण थप एकसाता लम्बियो’ पुस २४ बाट प्रक्रिया थाल्ने तयारी रहेको समेत उनले बताए।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक सातापछि प्रक्रिया अघि बढाउन दलहरु सकारात्मक भएको बताए।
सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख पद दिने सहमति छ। राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ। कोशी प्रदेशमा राप्रपाका ६ सांसद छन्।



























































