विर्तामोड ।   इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारी पुग्ने गरेका छन् । 

वडा नं ६ मा मात्र वार्षिक आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायतका क्षेत्रमा प्रतिहेक्टर १० दशमल तीन मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिका बारेमा तालिम सञ्चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताउनुभयो । सो वडाको ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रले सुन्तला सुदृढीकरण कार्यक्रमअन्तर्गत छजना सुन्ताला किसानलाई गत वर्ष रु एक लाखका दरले अनुदानसमेत प्रदान गरेको थियो । चालु आर्थिक वर्षमा समेत किसानले सो कार्यक्रम माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रका सूचना अधिकारी खड्काका अनुसार इलामका विभिन्न स्थानमा गरी तीन सय ६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ ।

वडा नं ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने कामसमेत भइरहेको बताउनुभयो । उहाँले सुरुमा वडाको सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी, जौबारी क्षेत्रमा विस्तार हुन थालेको बताउनुभयो । 

उहाँले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक घरबास (होमस्टे)मा बास बस्दै आउने गरेको समेत जानकारी दिनुभयो । सलकपुरमा मात्र १४ वटा होमस्टे सञ्चालनमा छन् । उनीहरूलाई भने प्रतिकेजी रु ८० देखि ९० मै दिने गरिएको छ ।

उहाँले विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गर्नुभएका गौरीलाल लामाले यहाँ सुन्तला खेतीको सुरुआत गरेको बताउनुभयो । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको विरुवा ल्याएर व्यावसायिक रोपण भइरहेको उहाँको भनाइ छ ।

सुन्तला खेतीबाट वार्षिक वडा नं ६ मा पाँच करोड रुपैयाँदेखि ६ करोडसम्म रकम भित्रिने गरेको छ । यस क्षेत्रमा उत्पादन गरेको सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता नभएको उहाँले बताउनुभयो । 

अध्यक्ष राईले यहाँका हरेक सुन्तला किसानले वर्षमा पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले चालु आवमा वडाले सुन्तला किसानको समूह बनाएर अध्ययन, अनुसन्धान पनि हुने र बिरुवा खरिदका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन नर्सरी खेती सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । 

स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको छ । जसमध्ये १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उहाँको भनाइ छ । 

विगतमा यहाँको सुन्तला खरिदका लागि भारतीय व्यापारीसमेत आउने गरेका थिए । तर स्थानीय किसानले भारतीय व्यापारीलाई भन्दा नेपाली व्यापारीलाई नै प्राथमिकता दिन थालेपछि उनीहरू आउन छाडेका छन् । सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष राईको भनाइ छ । यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवमा समेत प्रत्येक वर्ष लैजाने गरिन्छ ।

झापाका काँकडभिट्टा, धुलाबारी, विर्तामोड, दमक, भद्रपुरमात्र होइन हरेक गाउँगाउँमा व्यापारीले ट्रकमै राखेर ‘आयो है सलकपुरको सन्तुला’ भन्दै घुमाएर बेच्न गरेका छन् ।