काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाइ थियो। उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनीको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए। सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनले बताए।

ओलीले भने, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ बैंकको ऋण पुग्दैपुग्दैन। जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ। ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन। ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ। ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ। त्यसकारण ठूलाका लागि पनि आवश्यक छ। तर त्यहाँ मात्रै होइन। गरिवका, जहाँ सिड मनि छैन। जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन। हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ। त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ। त्यसबाट मुनाफा हुँदैन।’अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए।