तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नम्बर २ पेट्रोलपम्प छेउमा आइतवार साझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा म्याङ्लुङ नगरपालिका वडा नम्बर ८ का अन्दाजी बर्ष २४ का सविन लिम्बु र बर्ष २९ का संगम तामाङ रहेका छन्। उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको अस्पतालले जनाएको छ। आइतवार साझ ५ बजे तिर म्याङ्लुङबाट जिरखिम्ती तर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको बजाज कम्पनीको पल्सर बाइक जिरीखिम्ती सडकखण्डको पेट्रोलपम्प छेउमा दुर्घटना भएको हो।
तीव्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहताले जानकारी दिनुभयो।



























































