झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् ।
मुख्यमन्त्रीले बिश्वासको मत माग्दै राखेको प्रस्ताबमाथि आज भएको मतदानमा कार्कीले ४६ मत मात्र प्राप्त गरेका हुन् ।
प्रदेशसभाको ९३ सदस्यमध्ये विश्वासको मत प्राप्त गर्न ४७ जनाको मत आवश्यक थियो । उनले एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यको मात्र मत प्राप्त गरे ।
कार्कीको बिपक्षमा ४३ मत परेको छ । विपक्षी गठबन्धनमा रहेका ४६ जनामध्ये ३ जना बैठकमा अनुपस्थित थिए । जसपाले तठस्थ बस्ने निर्णय गरेकोले निर्मला लिम्बु अनुपस्थित थिइन भने काङ्ग्रेसका एक र माओवादी केन्द्रका एक साम्सद पनि उपस्थित थिएनन् ।
बिश्वासको मत गुमाएसगै गत पुस २४ गते ६० जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका कार्की पदमुक्त भएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी अब प्रदेशसभाले प्रदेश प्रमुखलाई गराएपछि नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढ्नेछ ।



























































