तुलसी सिटौला, तेह्रथुम ।
तेह्रथुमको आठराई गाउँपालिका–६, चुहानडाँडा स्थित शारदा माध्यमिक विद्यालयमा सोमबार ‘आठराई बाल प्रतिभा पहिचान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। शारदा मा.वि.को आयोजनामा तथा वडा नं ६ को आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विविध प्रतियोगितामार्फत बालबालिकाको प्रतिभा उजागर गरिएको थियो।
कार्यक्रम अन्तर्गत आठराई गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा वडा नं ६ अन्तर्गतका निम्न माध्यमिक विद्यालयहरू बीच नृत्य प्रतियोगिता संचालन गरिएको थियो।
हाजिरी जवाफ प्रतियोगितामा प्रणामी मा.वि. १२५ अंकका साथ प्रथम, पोखरी मा.वि. १२० अंकसहित द्वितीय तथा शारदा मा.वि. १०० अंकसहित तृतीय स्थानमा रहे। विजेता विद्यालयहरूलाई क्रमशः रु. ३५००, रु. २५०० र रु. २००० का नगद पुरस्कार प्रदान गरिएको थियो। अन्य सहभागी विद्यालयहरूलाई रु. १००० का दरले प्रोत्साहन पुरस्कार दिइएको थियो।
नृत्य प्रतियोगितामा शिवधर आधारभूत विद्यालय प्रथम, शारदा मा.वि. द्वितीय र सिर्योदय आ.वि. तृतीय स्थानमा रहे। तिनीहरूले क्रमशः रु. २०००, रु. १५०० र रु. १००० नगद पुरस्कार प्राप्त गरे।
कार्यक्रमका प्रमुख अतिथि आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम, विशेष अतिथि उपाध्यक्ष वलीराज इङनाम, विभिन्न वडाका अध्यक्षहरू, नौवटै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक प्रेम प्रकाश लामिछानेले बालबालिकाको प्रतिभा पहिचान तथा सिकाइको वातावरण निर्माणमा सहयोग पुर्याएकोमा वडा र गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो।
प्रमुख अतिथि पाहिमले आठराईको शैक्षिक गुणस्तर सुधारमा पालिका प्रतिबद्ध रहेको बताउनुभयो भने विशेष अतिथि वडा अध्यक्ष कृष्ण प्रसाद बास्कोटाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल शिक्षक महासंघ तेह्रथुमका अध्यक्ष अभिनारायण पराजुली, तेह्रथुम बहुमुखी क्याम्पसका प्रमुख पोष्टराज लामिछाने,कृष्ण मा.वि.का प्र.अ. खगेन्द्र खत्री लगायतले शुभकामना व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक भविन्द्र भट्टराईले गर्नुभएको थियो।