तेह्रथुम, आठराई – 

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. ५ मा अवस्थित श्री पोखरी माध्यमिक विद्यालयमा निर्माण हुन लागेको ८ कोठे पक्की भवनको  शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

आठराई गाउँपालिका र ह्यूमन प्राक्टिस फाउन्डेशनको साझेदारीमा निर्माण हुने सो भवनको शिलान्यास शुक्रबार विद्यालय परिसरमा आयोजित विशेष समारोहका बीच आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले गर्नुभयो।

IMG_7745

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, ह्यूमन प्राक्टिस फाउन्डेशनका प्रतिनिधिहरू, निर्माण व्यवसायी, अभिभावक, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रममा अध्यक्ष पाहिमले भन्नुभयो, “शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढ गर्न आवश्यक छ। यो भवनले श्रीपोखरी मा.वि.को सिकाइ वातावरणमा महत्वपूर्ण सुधार ल्याउनेछ।”

उक्त भवन निर्माणमा आठराई गाउँपालिकाको करीब २० लाख रुपैयाँ र  ह्यूमन प्राक्टिस फाउन्डेशनको करीब ८० लाख रुपैयाँ लगानी हुने जानकारी दिइएको छ। कुल लागत करीब एक करोड रुपैयाँ रहेको सो भवन विद्यालयकै नेतृत्वमा निर्माण गरिनेछ, र निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

IMG_7792

पोखरी मा.वि.का प्रधानाध्यापक चलन चन्द्र कन्दङवाले शिलान्यास कार्यक्रममा बोल्दै सबै सहयोगी निकायप्रति आभार व्यक्त गर्दै भने, “विगत लामो समयदेखि विद्यालय भवनको अभावबीच पनि पठनपाठन जारी राख्नुपरेको थियो। यस्तो अवस्थामा पालिका र  ह्यूमन प्राक्टिस फाउन्डेशनको सहयोगमा भवन निर्माणको कार्य सुरु हुनु विद्यालय र विद्यार्थीहरूका लागि ठूलो राहत र उपलब्धि हो।”

उनले विद्यालयको तर्फबाट पालिका, फाउन्डेशन, निर्माण टोली, स्थानीय समुदाय र सहभागी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

 ह्यूमन प्राक्टिस फाउन्डेशनको प्रतिनिधिहरूले ग्रामीण क्षेत्रमा शैक्षिक पूर्वाधार विकासमार्फत दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्यसहित काम भइरहेको जानकारी गराउँदै पालिका र विद्यालयसँगको सहकार्यलाई थप सशक्त बनाइने प्रतिबद्धता जनाए।

नयाँ भवन निर्माणसँगै विद्यालयमा शैक्षिक वातावरण सुधार हुने, विद्यार्थीलाई सहज र सुरक्षित कक्षाकोठा उपलब्ध हुने र सिकाइको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

IMG_7791