बिर्तामोड । झापाको गौरीगञ्जमा भएको आगलागीमा करिब ३१ लाख बराबरको क्षति भएको छ ।गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आज बिहान ९ बजेतिर आगलागी भएको हो ।

राजवंशीको टिनको छाना भएको, इटा र सिमेन्टको गारो भएको ५ कोठे घरमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट राजवंशीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । उनको घरभित्र रहेको नगद ५ लाख ५० हजार, साढे ३ तोला सुन, चाँदी ५० तोला ,अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी र मोहन दासको पनि क्षति भएको छ । राजवंशीको कोठाभित्र रहेको नगद १० हजार ,सुन २ तोला, चाँदी ७ तोला ,अन्नपात, लत्ताकपडा,भाडावर्तन , कागजपत्र, नागरिकता ५० वटा, धनीपुर्जा ४० वटा जलेर नष्ट भएको हो । उनको ४ लाख बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै दासको कोठाभित्र रहेको चाँदी १० तोला ,अन्नपात, लत्ताकपडा, भाडावर्तन र कागजपत्र जलेको छ । उनको पनि करिव २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।