विराटनगर। मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी)माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् ।विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन् । साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीले आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।पक्राउ  पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् । पक्राउ परेका उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ ।प्रहरीका प्रवक्ता डीएसपी बस्नेतका अनुसार विद्यार्थीहरूले नगरपालिकामा तोडफोड पनि गरेका छन् । विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूहले हातपात गरेको थियो ।