भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लामा सोमबार राति जीप दुर्घटना हुँदा सात जना नेपालीको ज्यान गएको छ।

ज्यान गुमाउने नेपालीहरूमा ५० वर्षीय विशराम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बसनियत रहेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ।

जीपमा नौ जना नेपाली सवार थिए। जसमध्ये दुई जना शान्ति चौधरी र छोटू चौधरी घाइते अवस्थामा छन्।

यस्तै, नैनीतालको बेतालघाट क्षेत्रमा भएको दुर्घटनामा सोही स्थानका चालक राजेन्द्र कुमारको पनि ज्यान गएको छ भने अर्का भारतीय नागरिक प्रेमबहादुर घाइते छन्। जीप २०० फीट गहिरो खोंचमा खसेको बताइएको छ।

इन्डिया डटकमका अनुसार घटना सोमबार राति साढे १० बजे भएको हो। प्रहरी उच्च अधिकारीलाई उद्धृत गर्दै इन्डिया डटकमले दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपाली महेन्द्रनगरका बासिन्दा भएको जनाएको छ। उत्तराखण्डको उँचकोट गाउँमा जल जीवन मिसन प्रोजेक्टमा काम गर्दै आएका उनीहरू घर फर्किंदा दुर्घटनामा परेका हुन्।