ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास शुरु गरेको छ । यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ । ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवानको आकाशमा चिनियाँ सैन्य अभ्यास शुरु भएको बीबीसीले जनाएको छ ।

चिनियाँ पिपुल्स लिबरेशन आर्मी (पीएलए) का प्रवक्ता ली शीले यो अभ्यासलाई पृथकतावादी गतिविधिविरुद्धको कडा कारबाहीको संज्ञा दिनुभएको खबरमा उल्लेख छ । उहाँले चीनको जल तथा हवाई सेनाले संयुक्त रूपमा अभ्यास थालेको जानकारी दिनुभयो ।

आज बिहान शुरु भएको चिनियाँ सैन्य अभ्यास ताईवानी मुख्यद्वीपको चारैतर्फ जारी छ । ताइवानका विभन्न क्षेत्रमा धेरै चिनियाँ लडाकु जहाजले फन्को मारेका छन् ।

चिनियाँ सैन्य अभ्यासविरुद्ध ताइवानको रक्षा मन्त्रालयले कडा शब्दमा आपत्ति जनाएको छ । साथै देशको सम्प्रभुता रक्षाका लागि आफ्नो नौसेना, वायु तथा स्थल सेना तयारी अवस्थामा रहेको ताइवानी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

चीनले ताइवान आफ्नो भू–भाग भएको दाबी गरिरहेको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश भन्दै आएको छ ।