काठमाण्डौ – धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ । उपकुुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाउनुभएको थियो । उच्च अदालत विराटनगरको आदेशपछि उहाँले हिजो आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोल्नुुभएको हो ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले अस्ति बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो । अदालतको आदेशपछि उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुले पनि डाक्टर र कर्मचारीले गर्दै आएको हडताल भने कायमै छ । 

वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका डाक्टर र कर्मचारीहरुले एक हप्तादेखि आन्दोलन गर्दै आएका छन् । उनीहरुले बिहान र दिउँसो उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना र सभा गर्दै आएका माग पूरा नभएसम्म आन्दोलन गर्ने बताएका छन् । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिइसक्नुुभएको छ ।