बिर्तामोड । सुनसरीको इटहरीस्थित मुख्यचोक नजिकै रहेको सेन्ट्रल प्लाजामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । बिहान ९ः४३ बजे प्लाजाको पाँचौ तलाबाट शुरु भएको आगो २ः५३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको हो ।
आगलागीमा फसेका १ जना बंगलादेशी नागरिकसहित ११ जनाको सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ । उनीहरु मध्ये ३ जनाको इटहरी अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा फसेकाहरुको उद्वारका लागि सेनाको हेलिकप्टरसमेत प्रयोग गरिएको थियो ।
आगो नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका एसएसपी भिमबहादुर दाहाल, जिप्रका सुनसरीका एसपी सुमनकुमार तिम्सिनाको कमाण्डमा ७० जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय इटहरीबाट एसपी बिनोद घिमिरेको कमाण्डमा ७५ जना, इलाका प्रहरी कार्यालय ईटहरीबाट डीएसपी लक्ष्मी भण्डारीको कामण्डमा २५ जना, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीबाट सइ गजेन्द्र कटवालको कमाण्डमा ५० जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुबसम्शेर जबराको कमाण्डमा ५० जना, शसस्त्र प्रहरी ४ नं. हेक्वाबाट एसपी निलम कुमार थापाको कमाण्डमा ७७ जना र ईटहरी उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकि रहेको छ ।
आगलागी भएको भवनमा होटल, बैंक, सिनेमा हल, कपडा पसल लगायत सञ्चालनमा रहेका छन् ।



























































