काठमाण्डौ – संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भई सम्मान पत्र प्राप्त गरेको छ ।
नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसको अवसरमा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा ठाकुरबाबा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएसंगै सम्मान पत्र प्राप्त गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विनाकुमारी भट्टराईलाई सम्मान पत्र प्रदान गर्नुभएको हो । नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने ६ वटा नगरपालिकालाई सम्मान गरेको हो ।
देशभरकै उत्कृष्ट कार्य गरेवापत बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उप महानगरपालिकालाई सामाजिक विकासमा पुरस्कृत गरिएको हो ।
यस्तै वातावरण संस्कृति पर्यटन प्रवद्र्धनमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई, आर्थिक विकासमा नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई उत्कृष्ट पुरस्कार दिइएको छ । नेपाल नगरपालिका संघले संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर देशभरका नगरपालिकाको कामको मूल्याङ्कन गरेको थियो ।