बिर्तामोड । झापा गोल्डकपको अध्यक्ष पदमा बिर्तामोडका उद्यमी केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका प्रत्यासी बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछी गिरी सर्बसम्मत अध्यक्ष चयन भएका हुन् ।

कार्यसमिति सर्बसम्मत बनाउन तीनदिनसम्म छलफल चलेको थियो । लामो रस्साकस्सीपछि अध्यक्षका उम्मेदवार कार्की पछि हटेका हुन् । अध्यक्षसँगै कार्यसमितिको सम्पुर्ण पदमा सर्बसम्मत भएको बताइएको छ । 

समितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।

कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । सचिवमा प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएर बुद्व तामाङ्लाई सर्बसम्मत बनाएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् ।

त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत भएका छन् ।

सहमतिको प्रयासका लागि निर्वाचन समितिले पटकपटक समयसमय थप गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो ।