बिर्तामोड । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटकपटक करणी गरेको प्रहरीले जनाएको छ ।

शिवाकोटीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आज सोमबार पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बुझाएको छ ।

स्थानीय एक विद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटकपटक करणी गरेको बताइएको छ । शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् ।

काँकरभिट्टा गेटमा शंकास्पद रुपमा भारत जान लागेकी उनलाई आफन्त नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यही घरमा जानुपर्छ भनेर अतालिएकी थिइन् ।

फकाएर सोधखोज गर्दा शिवाकोटीको कर्तुतका बारेमा उनले सार्वजनिक गरेको एक कर्मचारीले जानकारी दिए । सोधपुछका क्रममा पूर्व नगरप्रमुख शिवाकोटीको जबरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिइन् ।

त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटी हाल इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन् ।